Gorkhapatra daily publishes article on communication theory


मीमांसा दर्शनमा आधारित सञ्चार सिद्धान्तीकरण
डा. निर्मलमणि अधिकारी
भाषा तथा आमसञ्चार विभाग, स्कूल अफ् आर्ट्स्, काठमाडौँ विश्वविद्यालय

वैदिक परम्परामा मुख्य छवटा दर्शनलाई प्राचीनतम् दर्शनहरु मानिन्छ । साङ्ख्य, योग, न्याय, वैशेषिक, मीमांसा र वेदान्तलाई वैदिक षड् दर्शनमा समावेश गरिन्छ । यिनीहरुलाई आस्तिक दर्शन पनि भनिन्छ । आस्तिक दर्शनमध्येको मीमांसा दर्शनका सूत्रकार जैमिनि हुन् । जैमिनिकृत सूत्र ग्रन्थमाथि शबरले भाष्य लेखेका छन् । उक्त सूत्र र भाष्यमाथि थप व्याख्या गर्ने क्रममा आचार्य कुमारिल भट्ट, प्रभाकर मिश्र र मुरारि मिश्रका विशिष्ट विचारधारा विकास भएका छन् । तीमध्ये पनि आचार्य कुमारिल भट्टको दार्शनिक परम्पराको उत्तरोत्तर विकास र प्रभाव ज्यादा छ । उक्त दार्शनिक परम्परालाई भाट्ट–मीमांसा–दर्शन भनिन्छ ।
भाट्ट–मीमांसा–दर्शनानुसारको सञ्चारप्रक्रियाका तत्त्वहरु एवं ती तत्त्वहरुको संयोजनबाट अभिनिर्मित सञ्चारप्रक्रियाको भाट्ट–मीमांसा ढाँचा अभिनिर्मित भइसकेको छ । उक्त सञ्चार ढाँचामा चार मुख्य–विषयहरू रहेका छन् — भावक, इतिकर्तव्यता, साधन र साध्य । भाट्ट–मीमांसा–दर्शनका आधारमा अभिनिर्मित सञ्चारप्रक्रियाका ११ वटा तत्त्वहरू यिनै चारवटा मुख्य–विषयहरूमा समाविष्ट छन् । अर्थात्, भाट्ट–मीमांसा–दर्शनका आधारमा अभिनिर्मित सञ्चारप्रक्रियालाई उपर्युक्त मुख्य–विषयहरूले सारतः रूपरेखाङ्कित गर्छन् ।
भावक भन्नाले सञ्चारको परिप्रेक्ष्यमा सञ्चारकर्ताहरू हुन् । प्रत्येक भावकद्वारा प्रेषक र प्रापक दुई भूमिकाको निर्वहन भएको हुन्छ । तसर्थ, सञ्चाररत दुवै पक्षको एकसाथ प्रेषक र प्रापक दुवै हैसियत रहेको मानिएको छ । यसरी, भाट्ट–मीमांसा–दर्शनानुसारको सञ्चारप्रक्रियामा दुई पक्षको सहभागिता हुने र ती दुवै पक्षको प्रेषक र प्रापक हैसियत सँगसँगै रहने हुनाले तिनलाई साझा संज्ञाले जनाइएको हो । जो व्यक्ति जुन क्रियाको कर्ता हो सोही अनुसार उसलाई नामकरण गरिने मीमांसा मान्यता रहेको पृष्ठभूमिमा सञ्चारकर्ताहरू ‘भावना–क्रिया’ (शाब्दी भावना र आर्थी भावनासँग सम्बद्ध) मा संलग्न हुने भएको कारणले उनीहरूलाई जनाउनका लागि ‘भावक’ संज्ञा उपयुक्त ठहर्याइएको हो ।
इतिकर्तव्यतालाई कुमारिलले “कर्तव्यताविशेषात्मिका” भनी अथ्र्याएका छन् । यसरी, इतिकर्तव्यताको अर्थ हुन आउँछ — कर्तव्यताप्रकार वा क्रियाप्रकार । कर्तव्यता वा क्रियाका पनि विभिन्न प्रकार हुन्छन् । इतिकर्तव्यताले ती विभिन्न प्रकारका कर्तव्यता वा क्रियालाई जनाउँछ । भाट्ट–मीमांसा–दर्शनानुसारको सञ्चारप्रक्रियाको जुन अवधारणात्मक रूपरेखा अभिनिर्मित भएको छ, त्यसमा भावकहरूले कर्ताका रूपमा सम्पन्न गर्ने भावना–व्यापार अभिधान, बोध र जिज्ञासा हुन् ।
अभिधानलाई मीमांसा–मतमा एक किसिमको ‘व्यापार’ मानिएको छ । यो भावकको ‘मानसिक प्रयत्न’को फलस्वरूप सम्पन्न हुन्छ । सञ्चारप्रक्रियाको विवरण ‘भावक’को प्रेषक–कर्तृत्वबाट सुरु गरी प्रेषक हैसियतको भावकसँग सम्बद्ध भावनालाई ‘शाब्दी भावना’ संज्ञाले जनाइएको हुनाले उक्त ‘शाब्दी भावना’लाई अभिधान–क्रियाको स्रोतका रूपमा लिइएको छ भने अभिधानद्वारा प्रकटित तत्त्वलाई प्रमा भनिएको छ । अभिधान शब्दतः वा गैर–शब्दतः हुन सक्छ । यहाँ शाब्दी भावना र प्रमाबीचको कडी नै अभिधान हो, जुन भावकले सचेतनापूर्वक सम्पन्न गर्ने कर्म हो । शाब्दी भावनाले कर्म (इतिकर्तव्यता) को आकाङ्क्षा अवश्य राख्छ, तर यो आफैँमा कर्म भने होइन । त्यसरी नै प्रमा पनि कर्मको फलस्वरूप प्रकटित हुने हो, तर यो आफैँमा कर्म होइन । तसर्थ, शाब्दी भावना, अभिधान र प्रमा एउटै शृङ्खलामा सम्बद्ध तत्त्वहरू भए तापनि अभिधानलाई मात्र इतिकर्तव्यता अन्तर्गत राखिएको हो ।
बोधलाई पनि मीमांसा–मतमा ‘व्यापार’ नै मानिन्छ । ‘भावना’ क्रियार्थक भएकाले मीमांसा मान्यतामा भावकहरूको क्रियाशीलतालाई सदैव अङ्गीकार गरिएको एवं बोध प्रक्रियामा भावकको कर्मठ भूमिका अनिवार्य मानिएको श्लोकवार्तिक तथा तन्त्रवार्तिकसमेतका साक्ष्यबाट पुष्टि भएको अवस्थामा बोध पनि एक ‘व्यापार’ नै हो भनी मानिएको हो । तसर्थ, यसलाई पनि इतिकर्तव्यता अन्तर्गत राखिएको हो ।
सञ्चारप्रक्रियामा भावकहरूले गतिमान् तवरले अभिधान र बोध दुवै कार्य–व्यापार सम्पन्न गरिरहेका हुन्छन् । मानवहरूमा बोध–क्षमता सामाजिक सिकाइ र व्यक्तिगत अनुभवबाट विकास हुन्छ एवं यस्तो सिकाइ एवं अनुभवले लौकिक व्यवहारमा अभिधान र बोध प्रक्रियाहरूलाई संगतिपूर्ण बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने कुमारिलको मत रहेको छ । उनका मतमा गैर–शब्दतः अभिधानित सन्देशले पनि शाब्दिक सञ्चारकै नियम अनुशरण गर्ने हुनाले दैनिक जीवनमा सन्देशाभिधानका लागि प्रयुक्त गैर–शाब्दिक सन्देशको बोधका लागि पनि शाब्दिक सन्देशको बोधकै सिद्धान्त लागू हुने मानिएको छ । अभिधान र बोधजस्तै जिज्ञासालाई पनि इतिकर्तव्यताको अवयव मानिएको छ । जिज्ञासाका हकमा पनि, अभिधान र बोधका प्रसङ्गमा भनिएझैँ, भावकहरूको क्रियाशीलता रहने हुनाले यसलाई इतिकर्तव्यतामा समावेश गरिएको हो ।
सञ्चारप्रक्रियामा भावकहरूको सहभागिताको क्रियान्वयन एवं साध्य–प्राप्ति इतिकर्तव्यताबाटै हुने हुनाले भावकहरूको कर्मका रूपमा यी अत्यन्त महत्त्वपूर्ण छन् । अभिधानले नै ‘प्रमा’को स्वरूप निर्धारण गर्ने हुनाले शाब्दी भावनामा निहित अभिप्रायको प्रकाशन अभिधानवश नै रहेको देखिन्छ भने ‘प्रमा’को स्वरूपानुसार नै ‘करण’को चयन हुने हो । यसरी नै सञ्चारप्रक्रियाका अन्य तत्त्वहरू पनि कुनै न कुनै तरहले इतिकर्तव्यताको वशमा हुन्छन् ।
साधन शब्दका संस्कृत भाषामा अनेक अर्थहरू छन्, जसमध्ये सन्दर्भानुसार उपयुक्त अर्थ लिनु पर्ने हुन्छ । मीमांसकहरूले भावनाको अवयवका रूपमा प्रयोग गरेका साधन शब्द एक पारिभाषिक पद हो । सामान्य प्रयोगमा आउने ‘सञ्चारका साधन’ भनिने सामान्य पदावलीमाजस्तो साधनलाई सरणि, उपकरण वा माध्यम भन्ने अर्थमा मीमांसा वाङ्मयमा प्रयोग गरिएको छैन । यी साक्ष्यले मीमांसा वाङ्मयमा साधन शब्दको प्रयोग विशिष्ट अर्थमा हुने (सामान्य अर्थमा नहुने) छर्लङ्गै बुझिन्छ । सञ्चारप्रक्रियाको भाट्ट–मीमांसा ढाँचामा पनि ‘साधन’ शब्दलाई सञ्चारका सरणि, उपकरण वा माध्यमको पर्यायवाचीका रूपमा प्रयोग गरिएको छैन । यस ढाँचामा सञ्चारका सरणि, उपकरण वा माध्यमलाई जनाउने संज्ञा त ‘करण’ हो । शाब्दी भावना, प्रमा, प्रकरण र दोषलाई पनि ‘करण’सहित साधनभित्रै समावेश गरिएको छ । यसरी साधन नामक एक मुख्य–विषय अन्तर्गत पाँचवटा तत्त्वहरू (शाब्दी भावना, प्रमा, करण, प्रकरण र दोष) समाविष्ट छन् ।
मीमांसाको ज्ञान सिद्धान्त एवं भावना सिद्धान्तका आधारमा के देखिन्छ भने यहाँ प्राकृतिक÷भौतिक वस्तुहरूका साथै मानव शरीर, ज्ञानेन्द्रिय र मनलाई समेत ज्ञानको सरणिका रूपमा स्वीकार गरिएको छ । आधुनिक प्राविधिक मिडियाबारे प्राचीन मीमांसा वाङ्मयमा उल्लेख नहुनु स्वाभाविकै हो । यद्यपि, आधारभूत रूपमा ज्ञानकरण (सरणि वा माध्यम) लाई निर्णायक कडीका रूपमा लिई विशद चिन्तन गरिएको तथ्यलाई आधार मानी वर्तमानमा अभिनिर्मित सञ्चारप्रक्रियाको भाट्ट–मीमांसा ढाँचामा आधुनिक प्राविधिक मिडियालाई अङ्गीकार गर्नु नै यथार्थपरक हुनेछ । तसर्थ, ‘करण’ भनी अभिहित गरिएको पदले आधुनिक सञ्चार विधामा सञ्चारप्रक्रियाको एक तत्त्वका रूपमा माध्यम÷सरणि संज्ञाले जुन तत्त्वलाई जनाइएको छ, त्यसलाई सम्पूर्णतः प्रतिनिधित्व गर्ने मानिएको छ । सञ्चारप्रक्रियामा नकारात्मक असर पार्ने सबै कुराहरूलाई यहाँ ‘दोष’ संज्ञाले जनाइएको छ । भाट्ट–मीमांसा परम्परामा सञ्चारप्रक्रियामा दोषका रूपमा मनोवैज्ञानिक, सांस्कृतिक, वातावरणीय आदि पक्षहरूलाई खुट्ट्याइएको देखिन्छ । भाषागत वा अभिप्रायजन्य दोष, करणको कारणले हुने दोष, आत्मअभिव्यञ्जनमा समस्या, बोधमा वैभिन्य, अज्ञान आदिका कारणले समग्र ज्ञान–प्रक्रिया नै दोषपूर्ण हुने तथ्यप्रति मीमांसकहरू सुविज्ञ देखिन्छन् ।
‘सन्दर्भ–सापेक्षता’को सिद्धान्तलाई स्थापित गर्नु मीमांसकहरूको विशेष उद्देश्य रहेको छ । कुमारिल स्वयम्ले मानव कर्तृत्वका साथै स्थान, समय, भौतिक परिवेश, मनोसामाजिक परिप्रेक्ष्य आदिसमेतका आलोकमा मात्र बोध हुन सक्ने बताएका छन् । तसर्थ, सञ्चारप्रक्रियामा ‘सन्दर्भ–सापेक्षता’को सिद्धान्तलाई आत्मसात् गरिएको छ । सञ्चारप्रक्रियामा साधनत्वेन मानिएको ‘प्रकरण’ मा भौतिक परिवेश, सामाजिक अवस्था, सांस्कृतिक पक्ष आदिजस्ता पक्षहरू रहेका हुन्छन् र ती सबैको समष्टिले सञ्चारप्रक्रियाको प्रणालीबद्ध संरचनामा अन्य तत्त्वहरूमाथि प्रत्यक्ष प्रभाव पार्छ ।
सञ्चारप्रक्रियाको मूल उद्देश्य, लक्ष्य प्राप्तव्यलाई नै ‘साध्य’ संज्ञाले अभिहित गरिएको हो । ‘शाब्दी भावना’मा अपेक्षित कार्य–व्यापार वा कर्मानुष्ठान नै ‘आर्थी भावना’बाट प्रवृत्त हुने कारणले मीमांसाको भावना सिद्धान्तमा ‘आर्थी भावना’लाई ‘शाब्दी भावना’को साध्यका रूपमा लिइएको हो । भावनालाई ‘साध्यरूपिणी’ भनिएको हुँदा ‘आर्थी भावना’ नै भावना–व्यापारको लक्ष्य मानिएको देखिन्छ । मीमांसा परम्परानुकूल नै भाट्ट–मीमांसा–दर्शनका आधारमा अभिनिर्मित सञ्चारप्रक्रियाको साध्यका रूपमा ‘आर्थी भावना’लाई अङ्गीकार गरिएको हो । यसरी आर्थी भावना नै सामान्यतः भावनाप्रक्रियाको र विशेषतः भाट्ट–मीमांसा–दर्शनानुसार अभिनिर्मित सञ्चारप्रक्रियाको साध्यका रूपमा मानिएको छ । यसरी मीमांसा दर्शनमा सञ्चारप्रक्रिया भन्नाले त्यस्तो प्रणालीलाई बुझिन्छ — जसमा ‘भावक’हरूले आफ्ना–आफ्ना ‘शाब्दी–भावना’लाई ‘अभिधान’ क्रियाद्वारा व्यक्त गरी ‘करण’का माध्यमबाट साझेदारी गरेका ‘प्रमा’को ‘बोध’, उपर्युक्त प्रक्रियाका अन्य तत्त्वहरू (‘दोष’, ‘प्रकरण’ र ‘जिज्ञासा’) सँगको परस्परको सम्बन्धसमेतको फलस्वरूप, ‘आर्थी भावना’का रूपमा गर्छन् ।
कुमारिलका मतमा, भावना सदैव क्रिया (कर्म वा व्यापार) बाट व्यवहृत हुने कुरा हो र यसैमा भावनाको सार्थकता छ । मीमांसा परम्परामा भाव्यत्व, साध्यत्व र कर्मत्वलाई पर्यायवाची शब्दहरू मानिएका छन् । यसको तात्पर्य के हो भने भाट्ट–मीमांसा दृष्टिकोणअनुसारको सञ्चार सधैँ सोद्देश्य हुन्छ । उपर्युक्त उद्देश्यलाई वैदिक सन्दर्भमा ‘चोदना’ भनी मानिएको छ र त्यसको सार्थकतालाई ‘आर्थी भावना’ले प्रकट गर्छ । प्रेरणामूलक शाब्दी भावनाअनुरूप नै यस्तो आर्थी भावना प्रवर्तित हुनुलाई वैदिक एवं लौकिक दुवै परिप्रेक्ष्यमा ‘भावनाप्रक्रिया’को सफलता मानिन्छ । त्यसैले सञ्चारप्रक्रियाको भाट्ट–मीमांसा ढाँचामा पनि सञ्चारप्रक्रियाको लक्ष्य वा साध्यका रूपमा ‘आर्थी भावना’लाई मानिएको हो । यस पृष्ठभूमिमा भाट्ट–मीमांसा दृष्टिकोणअनुसारको सञ्चार सधैँ सोद्देश्य हुन्छ ।

In the print version, published in Gorkhapatra daily: अधिकारी, निर्मलमणि । २०७८ जेठ १४ । मीमांसा दर्शनमा आधारित सञ्चार सिद्धान्तीकरण । गोरखापत्र, पृ. ४ ।