सञ्चारको साधारणीकरण ढाँचा
डा. निर्मलमणि अधिकारी
सञ्चारको साधारणीकरण ढाँचा नेपालमा अभिनिर्माण भएको सञ्चार ढाँचा (communication model) हो । यो सञ्चार ढाँचा संस्कृत भाषामा लेखिएका प्राचीन ग्रन्थद्वय नाट्यशास्त्र र वाक्यपदीयमा रहेका सञ्चारसँग सान्दर्भिक हुने अवधारणा एवं चिन्तनलाई आधुनिक सञ्चार विधाको दृष्टिबिन्दुबाट अन्वेषण गरी अभिनिर्माण गरिएको हो । पूर्वमीमांसा र उत्तरमीमांसा (वेदान्त) को समन्वयबाट यसको दार्शनिक रूपरेखा निर्धारण भएको छ । सैद्धान्तिक मूलका रूपमा यसले भरतमुनिको रससूत्रलाई व्याख्या गर्नका लागि काव्यशास्त्रका आचार्य भट्टनायकद्वारा विकास गरिएको साधारणीकरण सिद्धान्तलाई अवलम्बन गरेको छ ।
पहिलोपटक लगभग दुई दशक पहिले अभिनिर्मित यो सञ्चार ढाँचाले नेपालबाट वैश्विक प्राज्ञिक जगत्मा यात्रा गर्ने क्रममा सञ्चार सिद्धान्त र दर्शनको अन्तरराष्ट्रिय विश्वकोश (इन्टरनेसनल इन्साइक्लोपेडिया अफ् कम्युनिकेसन थ्यौरी एण्ड फिलोसफी, सन् २०१६) मा पनि प्रकाशित छ । साथै, यो सञ्चार ढाँचा संसारका विभिन्न भाषाहरूमा अनुवाद भई अनेकौँ विश्वविद्यालयहरूमा पठनपाठन पनि हुने गरेको छ । अन्तरराष्ट्रिय प्राज्ञिक क्षेत्रले यसलाई ‘हिन्दू सञ्चार ढाँचा’ (हिन्दू कम्युनिकेसन मोडेल) भनेर पनि उल्लेख गर्दै आएको छ । सञ्चारको साधारणीकरण ढाँचाको दार्शनिक आधार हिन्दू दर्शन भएको हुनाले यसलाई हिन्दू सञ्चार ढाँचा पनि भनिएको हो । भूसांस्कृतिक दृष्टिबिन्दुबाट हेर्दा भारतवर्षीय ज्ञानपद्धतिमा आधारित रहेको हुनाले यसलाई भारतवर्षीय सञ्चार ढाँचा पनि भनिने गरेको छ ।
‘साधारणीकरण’ शब्दावली संस्कृत शब्द ‘साधारण’बाट बनेको हो । भाव, सन्देश, सूचना आदिलाई सबैले अनुभूति गर्न सक्ने, बोध गर्न सक्ने वा मनन गर्न सक्ने बनाउनुलाई साधारण बनाउने प्रक्रिया भनिन्छ । त्यही साधारण बनाउने वा सार्वजनीनता सुनिश्चित गर्ने प्रक्रिया नै साधारणीकरण हो । यो साधारणीकरण प्रक्रियाको बौद्धिक चिन्तन संस्कृतमा नाट्यशास्त्र, काव्यशास्त्र एवं सौन्दर्यशास्त्र आदिका परिप्रेक्ष्यमा भएको छ । कलाकारले अभिव्यक्त गरेको दुःख वा सुखको भावलाई दर्शकले बोध, अनुभूति एवं रसास्वादन गर्न सकेको कसरी हो भन्ने बारे रस सूत्र, रस सिद्धान्त र साधारणीकरण सिद्धान्त बनेका छन् ।
नाटकमा कलाकारले कथानक अनुसार पात्रको भावलाई सफलतापूर्वक अभिनय मार्फत् अभिव्यक्त गर्न सक्छन् भने प्रेक्षक (दर्शक) ले त्यो अभिनयलाई हेरी कलाकारबाट अभिनित भावलाई अनुभूति गर्न सक्छन् । नाटकमा राम र सीताको चरित्र अभिनय गर्ने व्यक्तिहरू वास्तविक राम र सीता होइनन् तापनि कथानक अनुसार राम र सीताको भावलाई उनीहरूले यसरी प्रस्तुत गर्नुपर्ने हुन्छकि त्यसलाई प्रेक्षकहरूले साँच्चिकै राम र सीतालाई देखिरहेको अनुभूति गरुन् । नाटक वा चलचित्र हेर्दा दर्शकहरू त्यसका पात्रको दुःखमा दुःखी र सुखमा सुखी भएको हामीले देखेकै छौँ । यसरी भावको साधारणीकरण भइरहेको हुन्छ ।
यसैगरी, काव्यमा कुनै कविले यथार्थ घटनाका आधारमा वा कल्पनाका भरमा लेखेका कृतिलाई पाठकले पढेर त्यसमा निहित भावलाई बोध, अनुभूति एवं आस्वादन गर्न सक्छन् । मुनामदन खण्डकाव्यमा मदन भोटबाट फर्केपछि मुनाको देहावसान भइसकेको थाहा पाउँदा जुन बिलौना गर्छ, त्यसले पाठकको हृदय नै द्रवित हुन्छ । यसरी काव्यमा कुनै पात्रविशेषका माध्यमबाट अभिव्यक्त भावलाई पाठकले अनुभूति गर्न सक्नु पनि साधारणीकरण प्रक्रियाको उदाहरण हो ।
सञ्चारमा प्रेषक र प्रापकका बिचमा सूचनाको साझेदारी भइरहेको हुन्छ । विभिन्न परिस्थितिमा प्रेषक र प्रापकले सफलतापूर्वक सञ्चार कसरी गर्न सकेका हुन् भन्ने व्याख्या सञ्चारको साधारणीकरण ढाँचाले गर्छ । उपर्युक्त व्याख्या गर्ने दृष्टिकोण पश्चिमा सञ्चार सिद्धान्त एवं ढाँचाहरूको भन्दा पृथक् रहेको छ । साधारणीकरण प्रक्रियामा ‘सहृदयता’ अवधारणाको आधारमा उपर्युक्त व्याख्या गरिन्छ ।
सञ्चारको साधारणीकरण ढाँचामा सञ्चारकर्ताहरूलाई सहृदय संज्ञाले जनाइन्छ । यहाँ सञ्चार भनेको प्राथमिक रूपमा सहृदय–प्रेषक र सहृदय–प्रापकका बिचमा हुने सूचना वा सन्देशको साझेदारी हो । त्योभन्दा उच्चतर तहमा सञ्चार भनेको भावको आस्वादन अर्थात् रसास्वादन हो । पूर्ण सफल सञ्चार प्रक्रियामा सञ्चारकर्ताहरूका बिचमा सहृदयताको सम्बन्ध सुनिश्चित हुन्छ । वास्तवमा सञ्चारको साधारणीकरण ढाँचा अनुसार सञ्चारको उद्देश्य सञ्चारकर्ताहरूका बिचमा सहृदयताको सम्बन्ध बनाउने हो ।
सञ्चारको साधारणीकरण ढाँचाको केन्द्रीय तत्त्व वा विशेषता हो सहृदयता । सहृदयता भनेको सहृदय हुनुको भाव वा सहृदय सम्बन्धमा रहेको अवस्था हो । संस्कृतमा मूलरूपमा यो वैदिक शब्द हो । वैदिक परिप्रेक्ष्यमा सहृदय शब्दको निर्माण समान र हृदय दुइटा शब्दहरूको संयोजनबाट बनेको हो । सहृदयताको अवधारणा ऋग्वेदमै पाइन्छ र अथर्ववेदमा त सहृदयताको विशद् चिन्तनका लागि सामञ्जस्य सूक्त नै रहेको छ । कालान्तरमा अनेकौँँ आचार्यहरूले सहृदयता अवधारणाको थप विस्तार गर्दै साधारणीकरण सिद्धान्त र सहृदयता दर्शनको आधारशिला तयार पारेका छन् । सहृदयता कसरी सम्भव हुन्छ भन्ने बारे संस्कृत नाट्यशास्त्र, काव्यशास्त्र तथा सौन्दर्यशास्त्रका परम्परामा प्रशस्त चिन्तन भएको छ । तिनीहरूमध्ये आचार्य भट्टनायकले मीमांसा दर्शनको भावना सिद्धान्तलाई पनि आधार मान्दै साधारणीकरण सिद्धान्तको निरूपण गरे । सोही चिन्तनलाई आधुनिक सञ्चारको परिप्रेक्ष्यमा ल्याई सिद्धान्तीकरण एवं सञ्चार ढाँचाको अभिनिर्माण गरिएको हो ।
जाति, भाषा, संस्कृति, रीतिथिति र अन्य अनेकौँ आयाममा विभिन्नता तथा विविधता हुँदाहुँदै पनि भारतवर्षीय समाजमा सफलतापूर्वक सञ्चार हुन कसरी सम्भव भइरहेको छ भन्ने सवालको व्याख्या यो सञ्चार ढाँचाले प्रस्तुत गरेको छ । संस्कृति र वैयक्तिक प्रतिभाका कारणले समाजका सदस्यहरूमा हुने सहृदयता अनुभूतिले बाह्य जगत्मा विद्यमान वैविध्य तथा वैभिन्न्यको अवरोधलाई जितेर सफल सञ्चार सम्भव गराउँछ भन्ने यहाँ मानिन्छ ।
उता पाश्चात्य सन्दर्भमा सञ्चारविद्हरूले सञ्चार सिद्धान्तलाई चार विभिन्न दृष्टिकोणका आधारमा वर्गीकरण गरेको पाइन्छ । पश्चिमा परिप्रेक्ष्यमा सञ्चारलाई प्रेषण वा प्रवहन (ट्रान्समिशन) मान्ने दृष्टिकोण पहिलो हो भने सञ्चारलाई नैयमिक वा सहभागितात्मक क्रियाकलाप (रिचुअल) मान्ने दृष्टिकोण दोस्रो हो र सञ्चारलाई प्रचार (पब्लिशिटी) मान्ने दृष्टिकोण तेस्रो हो भने सञ्चारलाई सूचना–प्राप्ति एवं बोध–प्रधान प्रक्रिया (रिशेप्सन) मान्ने दृष्टिकोण चौथो हो । मूलतः अमेरिकी सन्दर्भमा भएका सञ्चार चिन्तनबाट निरूपित उक्त चार दृष्टिकोणले सञ्चारको परिभाषा एवं व्याख्या आफ्ना आफ्नै मान्यता वा दृष्टिबिन्दुका आधारमा गर्छन् । सञ्चारको साधारणीकरण ढाँचाको व्याख्यालाई उक्त चारवटा दृष्टिकोणसँग तुलना गर्ने हो भने प्राच्य र पाश्चात्य सञ्चार अवधारणाहरूको पृथक् पृथक् विशेषता उजागर हुन्छन् ।
सञ्चारको साधारणीकरण ढाँचामा सहृदय (प्रेषक र प्रापक), भाव, अभिव्यञ्जन, सन्देश, सरणि, रसास्वादन, सम्भाव्य दोष, सन्दर्भ र प्रतिक्रियालाई सञ्चार प्रक्रियाका तत्त्वहरूका रूपमा व्याख्या गरिएको छ । प्रेषकद्वारा अभिव्यक्त भाव उपयुक्त सन्देशको रूपमा सरणिमार्फत् प्रापकसम्म पुगी उसले सन्दर्भ एवं सङ्केतको अनुकूलता र दोषको अभाव वा अपेक्षाकृत कम अस्तित्वमा त्यसलाई रसास्वादन गर्नु र त्यसको फलस्वरूप दुवै पक्षलाई साझापन वा एकत्वको अनुभूति हुनुलाई नै साधारणीकरण भनिएको छ । लौकिक वा भौतिक सन्दर्भमा हिन्दूअवधारणात्मक सञ्चारप्रक्रियाको उद्देश्य भावहरूको साझेदारी, पारस्परिक समझदारी, सहमति एवं सामूहिक क्रियान्विति हो । उच्चतर रूपमा यसको उद्देश्य मोक्षप्राप्ति भएको पनि निष्कर्ष निकालिएको छ । मोक्षप्राप्तिका लागि सञ्चारयोग पनि ज्ञानयोग, भक्तियोग र कर्मयोग जस्तै एउटा मार्ग हो भन्ने निरूपण हुनुले आध्यात्मिक सञ्चारको क्षेत्रलाई समृद्ध बनाएको छ ।
सञ्चारका क्रममा अभिव्यञ्जन शाब्दिक र अशाब्दिक (गैर–शाब्दिक पनि भनिने) हुन सक्छ । शाब्दिक अभिव्यञ्जनमा शब्द एवं भाषालाई प्रयोग गरिन्छ भने अशाब्दिक अभिव्यञ्जनको क्षेत्र निकै बृहद् छ । विशिष्टिकृत अध्ययनका क्रममा सञ्चारविद्हरूले गैरशाब्दिक सञ्चारलाई शारीर–भाषा (काइनेसिक्स), स्थानबोध–अध्ययन (प्रोक्सेमिक्स), स्पृश्य–भाषा (ह्याप्टिक्स), समयभाषा (क्रोनेमिक्स), भाषा–सदृश उच्चारण (भोकालिक्स तथा प्याराल्याङ्ग्वेज) र भौतिक परिवेश (फिजिकल कन्टेक्स्ट) जस्ता अध्ययनक्षेत्रमा विभाजन गरेको तथ्य यहाँ उल्लेखनीय छ । सञ्चारको साधारणीकरण ढाँचा उक्त सबै आयामहरू समावेश छन् ।
भरतमुनिले नाट्यशास्त्रमा शाब्दिक र अशाब्दिक दुवै प्रकारका सञ्चारका लागि सान्दर्भिक हुने अन्तःज्ञान प्रस्तुत गरेका छन् । भर्तृहरिको वाक्यपदीयलाई मुख्यतः भाषाको दर्शन र भाषाविज्ञानका परिप्रेक्ष्यमा अध्ययन गर्ने प्रचलन छ । ती दुइटै ग्रन्थको अनुशीलन गर्दा संस्कृत व्याकरणको परम्परामा शब्दका साथसाथै इसारा, हाउभाउ तथा अन्य अशाब्दिक अभिव्यञ्जनलाई समावेश गरिएको रहेछ भन्ने तथ्य उजागर हुन्छ । त्यसैले यो ढाँचामा सबै प्रकारका सञ्चारलाई सम्बोधन गर्न सक्ने क्षमता अन्तर्निहित हुन सकेको हो ।
सञ्चारको साधारणीकरण ढाँचामा सञ्चारप्रक्रियाका आधारभूत सैद्धान्तिक मान्यताहरूलाई मुख्यतः आठवटा बुँदाहरूमा प्रस्तुत गरिएको छ । पहिलो — सञ्चारढाँचाको संरचना रेखीय (लिनियर) हुँदैन, चक्रवत् (सर्कुलर) हुन्छ । दोहोरो सञ्चार हुने हुनाले सञ्चारकर्ताहरूबीच पारस्परिक समझदारी हुन्छ । दोस्रो — हिन्दूसमाजमा जात, भाषा, संस्कृति तथा धार्मिक सम्प्रदायगत व्यवहारका हिसाबले जटिल संरचना भएको भए तापनि सहृदयताको कारणले सफल सञ्चार सम्भव हुन्छ । तेस्रो — साधारणीकरणमा सञ्चारकर्ताहरूको परस्परको सम्बन्धले निर्णायक महत्त्व राख्दछ । यहाँ सम्बन्धको हेतु मात्र नभई सम्बन्ध स्वयम् नै महत्त्वपूर्ण हुन्छ । साथै, पाश्चात्त्य सिद्धान्त र ढाँचामा प्रेषकको प्राधान्य रहेजस्तो अवस्था यहाँ हुँदैन । यहाँ सञ्चारमा संलग्न दुवै पक्षलाई उत्तिकै महत्त्व दिइन्छ ।
यसैगरी, साधारणीकरणको चौथो विशेषता हो— सञ्चारप्रक्रियामा अभिव्यञ्जन र बोध नै आधारभूत कार्यव्यापार हुन् । अर्को शब्दमा भन्नुपर्दा, ती साधारणीकरण वा सञ्चारका निर्णायक क्षणहरू हुन् । पाचौँ — हिन्दूअवधारणात्मक सञ्चारमा आन्तरिक वा अन्तःनिहीत क्रियाकलापलाई जोड दिइन्छ । तसर्थ सञ्चारमा बाह्य इन्द्रियमार्फत् हुने वस्तुगत तर्क–बुद्धिमूलक ज्ञानलाई भन्दा आन्तरिक अनुभूतिजन्य ज्ञानको प्राधान्य हुन्छ । शब्दका चार तह (परा, पश्यन्ति, मध्यमा र वैखरी) मानिनुले पनि आभ्यन्तरिक प्राथमिकताको पुष्टि हुन्छ । छैटौँ — सन्दर्भलाई सञ्चारप्रक्रियाको एक अनिवार्य तत्त्वका रूपमा समावेश गरिएको हुन्छ । सन्दर्भकै कारणले कुनै पनि सन्देशको अर्थ अपेक्षित रूपमै बोध हुन्छ ।
साधारणीकरणको सातौँ विशेषता हो— हिन्दूअवधारणामा सञ्चारको क्षेत्र बृहत् छ । यसले जीवनका तीनैवटा आयाम (आधिभौतिक, आधिदैविक र आध्यात्मिक) सँग सरोकार राख्छ । सामाजिक वा लौकिक तहमा सञ्चार मानवहरूबीचमा सहृदयताबोधको प्रक्रिया हो । मानसिक तहमा सञ्चारले सही ज्ञान हासिल गर्ने प्रक्रियालाई जनाउँछ । साथै, सञ्चारको आध्यात्मिक पक्षसमेत छ । आठौँ— सञ्चारप्रक्रियाको उद्देश्य पारस्परिक समझदारी हासिल गर्नु हो । साथै, हिन्दू मतानुसार सञ्चारप्रक्रिया चारवटै पुरुषार्थ (धर्म, अर्थ, काम, मोक्ष) हासिल गर्ने साधन पनि हो । त्यसैले सञ्चारयोग सिद्धान्त पनि अभिनिर्माण गरिएको हो ।
In the print version, published in Gorkhapatra daily: अधिकारी, निर्मलमणि । २०७८ असार ११ । सञ्चारको साधारणीकरण ढाँचा । गोरखापत्र, पृ. ४ ।